Thursday, February 24, 2011

आत्महत्या

,
जीवन निर्वाहका क्रममा हामी आफ्नो हक-अधिकारका लागि मार्न-मर्न तयार हुन्छौं तर जब आफैसँग लड्ने समय आउँछ त्यसबेला मानिसहरू हार मान्छन् । एक दशक लामो द्वन्द्व वा गृहयुद्धका क्रममा बदलिएको राजनीतिक, सामाजिक एवं आर्थिक स्थितिका कारण व्यक्तिभित्र खिन्नता, वैमनस्यता, डर, भयजस्ता भावना प्रबल भएका छन् । जीवनको लडाइँ लड्दा-लड्दै मानिसहरू हार खाएर आत्महत्याको बाटो समातेर दुःख अन्त्य भएको मान्छन् ।
आत्महत्याका पछाडि धेरैजसो पारिवारिक कलह, ऋण, माया, पे्रेम, धोका, एक्लोपन, गरिबी, बेरोजगारी तथा परीक्षाको परिणाम आदि कारण हुन्छन् । यस्तै कारणले गर्दा मानिस अवसाद (डिप्रेसन) मा जान्छ र यही अवसादको धुनमा कुन बेला उसले आत्महत्या गर्छ, कसैलाई थाहा हुँदैन । मनोवैज्ञानिकहरू भन्छन्-'कुनै समस्याबाट मुक्ति पाउने उपलब्ध विकल्पमा आत्महत्या कतै आउँदैन ।' आत्महत्या नितान्त व्यक्तिगत मामिला भए पनि यो घर र समाजसँगै जोडिएको हुन्छ । एउटा व्यक्ति, व्यक्तिमात्र नभएर कसैका लागि सर्वस्व पनि हुन्छ । त्यसकारण आफ्नो इहलीला समाप्त गर्नुअघि आफन्तका सम्बन्धमा पनि सोच्नुपर्छ । भनिन्छ, क्रोध वा रिसको आवेगमा विवेक र बुद्धि हराउँछ, त्यसकारण क्रोधलाई नियन्त्रण गर्नुपर्छ ।
मानिसले आत्महत्या किन गर्छ ? कतिपयले सोच्छन् आत्महत्या या त धनीले गर्छ अथवा गरिबले तर, व्यक्ति जब डिप्रेसनको सिकार हुन्छ, त्यतिबेला आत्महत्या गर्नतिर लाग्छ ।
व्यक्तिले एकैपटकमा आत्महत्या गर्दैन । आत्महत्या गर्नुअघि उसले घरमा केही न केही संकेत दिएको हुन्छ । ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् । डिप्रेसन भएका कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् र चिकित्सकको सेवा लिन वा नजिकको विश्वासपात्र वा परिवारजनलाई कुनै न कुनै रूपमा जानकारी गराउँछन् । वास्तवमा उनीहरूलाई पनि आफ्नो शरीरको माया हुन्छ, तर अरू विकल्प नदेखेर आत्महत्याको बाटो अपनाउँछन् ।
आत्महत्यालाई परिवारजन मिलेर रोक्न सकिन्छ, तर त्यसको उल्टो परिणाम पनि हुन सक्छ। कसैको आत्महत्याको प्रयास असफल भयो भने घरका सदस्यहरूले थप हतोत्साहित गर्दै मानसिक यातना दिने काम गर्छन् । यस्तो आक्षेप लगाउनुअघि यो समस्याको सही जानकारी हुनुपर्छ । आत्महत्या गर्नुमा मनोरोग, सामाजिक तथा वातावरणीय कारणको बढी हात हुन्छ । आत्महत्या अस्वस्थ मस्तिष्कको उपज हुन सक्छ । यस्ता व्यक्तिको मन-मस्तिष्कका स्नायु रसायनहरूमा गडबढी आएको हुनसक्छ । यस्तो बेला व्यक्तिको अनुभूति, सोच, भावना, व्यवहारलगायत शरीर र मन-मस्तिष्कका धेरै कार्यमा समस्या उत्पन्न हुन्छन्। अन्धकारमय भविष्य, एक्लोपन र असहायपनको अनुभूति हुनु, कसैसँग स्नेह एवं सरोकारको अभावमा आत्महत्या नै एक मात्र समाधान लाग्छ । ।
यस्तो स्थिति आउन नदिन केही कुरामा ध्यान दिएर सतर्कता अपनाउनुपर्छ। डिप्रेसनको सिकार भएका व्यक्तिको व्यवहार सामान्य मानिसभन्दा अलिक फरक हुन्छ । यस्ता व्यक्ति उदास र तनावमा हुन्छन् । यस्ता व्यक्ति स-साना कुरामा रिसाएर मारपिट गर्छन् । नकारात्मक कुरा मात्र गर्छन् । आत्महत्या गर्न चाहने मानिसहरू यो संसारबाट पर अर्को संसारको कुरा गर्छन्, दार्शनिकता देखाउँछन् । उनीहरूमा भोकमा परिवर्तन, वजन घट्नु वा बढ्नु, शारीरिक शक्तिमा कमी, निर्णय लिन असक्षम आदि व्यावहारिक परिवर्तन देखा पर्न थाल्छ।

0 comments to “आत्महत्या”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates