”चर्पी बनाउन सिक्यो, बगैचा बनाउन सिक्दैछ अझ पनि धेरै सिक्ने मन छ” हिजोआज गाउँमा कोही मानिस पुगेर कुराकानी गर्न थालेपछि केरुङ १ पेरिङदिङकी मञ्जु तामाङले भन्छिन् “हाम्रो श्रीमान्हरु बिदेश गएको धेरै भयो अहिले त म आफै चिठ्ठि पठाउछु उसले पठाएको पनि पढ्न सक्छु ।” मञ्जुको जस्तै बिचार छ लक्ष्मि तामाङको पनि । लक्ष्मी भन्छिन् ”म अहिले आफै पढ्न सक्छु, मनमा लागेका कुराहरु लेख्न सक्छु ।”
पेरिङदिङ सोलुखुम्बु जिल्लाको दक्षिण पश्चिममा अवस्थित केरुङ गाविसको १ नम्वरमा पर्ने एउटा सुन्दर तामाङबस्ती हो । सदरमुकाम सल्लेरीबाट हिडेर ४ घण्टामा पुग्न सकिने यो गाउँमा अन्यत्रजस्तो बिजुली बत्तिको झिलीमिली उज्यालो त छैन तर शिक्षाको उज्यालोले यहाँका महिलाहरुमा धेरै परिवर्तन आएको छ । “उमेरमा पढ्न नपाउँदा कालो अक्षर भैसी बराबर थियो । तर अहिले धेरै कुरा पढ्न सक्छु,” पेरिङदिङकी फुलमाया तामाङले भनिन् ।
पढ्नमात्र हैन यहाँका महिलाहरुले प्रौढ पढ्न थालेपछि गाउँमा समूह बनाए । समूहमा बसेर आफ्ना समस्याहरुमाथी छलफल गर्न थाले । “समूह बनाएपछि महिलाहरुले धेरै काम गर्न थाले किनभने प्रौढ शिक्षा पढेर उनीहरुलाई व्यक्तिगत रुपमा जति फाइदा भएको थियो समूह बनाएपछि समुदायले नै त्यसको फाइदा लिन थालेको छ” बिगत २ बर्षदेखि यहाँका महिलाहरुसँग काम गरिरहेका दिपक राजभण्डारी भन्छन्, “यो सबै परिवर्तन देख्दा आज हामीलाई धेरै खुशी लाग्छ ।”
दिपकका अनुसार पहिले यहाँका मानिसहरु जहाँपायो त्यही दिशापिशाव गर्थे । केटाकेटीहरुलाई नियमित रुपमा नुहाई धुवाई गर्ने चलन थिएन । महिलाहरु सधै काममा व्यस्त हुन्थे । आज यति सुन्दर देखिने यो बस्तीमा त्यतिबेला फोहोर थियो । तर अहिले हरेक घरमा नभए पनि निश्चित ठाउँमा चर्पी छ । मानिसहरु चर्पी प्रयोग गर्छन् । केटाकेटीहरु चर्पीमा नै दिशापिसाव गर्छन् । हरेक घरका केटाकेटीहरु स्कुल जान्छन् ।
“यहाँका महिलाहरु अहिले महिनावारी समूहको बैठक बस्छन् । बैठकमा आफ्ना चासो र सरोकारका बिषयमा खुलेर छलफल गर्छन् जस्ले गर्दा उनीहरुलाई दुई चार जना मानिसको अगाडी कुराकानी गर्न धक लाग्दैन,” हरेक दिन यहाँका महिलाहरुको सुखदुःखको साथी बनेर काम गरिरहेकी केरुङकी हिम कुमारी मगर भन्छिन्, “समूह गठन भएपछि उनीहरुले मासिक रुपमा बचत पनि गर्छन् ।”
यो बस्तीमा अहिले लोग्ने मानिसहरु छैनन् । कोही मलेशियामा छन् कोही भने पर्यटकका पथ प्रदर्शक तथा भरिया भएर काम गरिरहेका छन् । घरमा बस्ने महिलाहरुको आम्दानीको मुख्य स्रोत उनीहरुका लोग्नेले कमाएको पैसा नै हो । तर यो दिर्घकालिन र भरपर्दाुे भने छैन । “किनभने मलेशीयामा भएको लोग्नेले सक्यो भने बर्षमा एकपटक पैसा पठाउला अनि ट्रेकीङ जानेहरुको पनि त्यही नै हो,” मलेशीयामा श्रीमान् हुने एक महिलाले बताइन् । त्यसोभए बचत कसरी गर्नुहुन्छ ? मञ्जु तामाङ भन्छिन्, “बनीबुतो मेलापात गरेर ।”
मेलापात गरेर भएपनि उनीहरु महिनाको बीस रुपैयाँ बचत गर्छन् । यसरी बचाएको पैसाले उनीहरुलाई धेरै फाइदा भएको छ । गाउँघरमा कसैलाई सा¥हो गा¥हो पर्दा उनीहरु त्यही पैसा चलाउँछन् । “बचत गर्दा आफुलाई परेको बेला चलाउन सजिलो हुदोरैछ व्याज पनि कम लिदो हुदो रैछ । त्यसैले पनि हामी बचत गर्छौ” लक्ष्मी तामाङलाई बचत गर्ने पैसा जुटाउन निकै गा¥हो भएपनि यसले गर्ने फाइदा सम्झिदा बचत गर्नैपर्नेरहेछ भन्ने लाग्छ ।
दिनभरी कामकाजमा व्यस्त हुने यहाँका महिलाहरु बेलुका भेला भएर आफ्ना समस्याहरुमाथी छलफल गर्छन् । आगामी दिनमा के के काम गर्ने भन्नेबारेमा बिचार बिमर्श गर्छन् । यसो गर्नका लागि गाउँमा एउटा सोलार बत्तिको व्यबस्था छ । फुलमाया तामाङको घरलाई उनीहरुले बैठक कोठा बनाएका छन् । कोठा प्रयोग गरेबापत समूहले फुलमायालाई महिनाको ५० रुपैयाँ तिर्ने गरेको छ ।
गाउँमा यो सबै परिवर्तन कसरी आयो त ? सोलुमा जन्मेका सञ्चारकर्मी तथा पर्यटन व्यवसायी ङिमा पाख्रिन भन्छन् “अहिले त्यहाँ डेनमार्कको डायलोगोस र स्थानीय गैर सरकारी संस्था योङ्गस्टार क्लवको साझेदारीमा सोलुखुम्बु एजु–कम्युनिकेशन परियोजनाले काम गरिरहेको छ । परियोजनाको अवधारणा अनुसार नै यहाँ यस्तो परिवर्तन भएको हो ।” ङिमा परियोजनाका व्यवस्थापक हुन् । उनका अनुसार यो परियोजनाले सोलुखुम्बुको गोराखानी, टाप्टिङ र केरुङ गाविसमा बिगत २ बर्षदेखि काम गरिरहेको छ । परियोजनाले काम गर्न थालेपछि केरुङ १ का पेरिङदिङमा मात्र हैन तीनटा गाविसका ९ वटै वडामा धेरै परिवर्तन आएको कुरा ङिमा बताउँछन् ।
Wednesday, December 8, 2010
Subscribe to:
Post Comments (Atom)