Wednesday, December 8, 2010

रेडियोले संगठित बनायो सुनसरीका दलित महिलालाई

,
सुनसरी जिल्लाका घना दलितवस्तीहरुका बासिन्दा हरेक शनिबार साँझ सवा सातबजेभित्र घरधन्दा सक्छन् । हाट बजार तथा मेलापात अनि कारखानामा काम गर्न गएकाहरु पनि यो दिन छिट्टै घर आउँछन् । केटाकेटीदेखि युवायुवती अनि बृद्धबृद्धा सबैजना बस्तीभित्रको चौक, चौतारी तथा मन्दिरमा भेला हुन्छन् । ठिक साढे सातबजेदेखि सबैका कान बजिरहेको रेडियोमा केन्द्रित हुन्छन् । किनभने शनिबार साँझ साढेसातबजेदेखि आधाघण्टासम्म रेडियोबाट समाजले दलित बनाएका उनीहरुका भावना तथा उनीहरुको समुदायले गरेका गतिबिधिहरु प्रशारण हुन्छन् । जुन कुरा सुनेर उनीहरु आत्मगौरवको अनुभुति गर्छन् । ”हामीलाई आफुले बोलेका कुराहरु रेडियोमा जस्ताको त्यस्तै सुन्न पाउँदा गर्ब लाग्छ, ” सुनसरीको सोनापुर गाविसकी बिना बिश्वकर्माले काठमाण्डौबाट सञ्चारमाध्यममा दलितको पहुँच बिषयमा अनुसन्धान गर्न गएका तोया घिमिरेसँग दङ्गदास हुदै बताइन् ।

सोनापुरका मात्र हैन, सुनसरी जिल्लाको पाँचकन्या, रामगञ्ज बेलगछिया, मधेली गाविस र इटहरी नगरपालिकाको वार्ड नं २ र ५ का कथित दलित समुदायको धड्कन बनेको हिजोआज ‘साझा आँगन’ नामको रेडियो कार्यक्रम । यो कार्यक्रम सप्तकोशी एफ. एम. बाट हरेक शनिबार साँझ साढे सातबजे प्रशारण हुन्छ । सामाजिक बिभेद तथा कुसंस्कार अनि हेलाहोचो र थिचोमिचोका बिरुद्ध प्रभावकारी बनेको ‘साझा आँगन’ कार्यक्रम एक्सन एड नेपालको सहयोगमा स्थानीय गैर सरकारी संस्था अभियान नेपाल र सप्तकोशी एफ. एम. ले संयुक्त रुपमा तयार पार्छन् । कार्यक्रममा पछाडि पारेका समुदायका खासगरी तराईवासी दलित र त्यसभित्र पनि महिला तथा बालबालिकाका बिषयमा सामाग्रिहरु समावेश हुन्छन् । लक्षित समुदायको घरदैलोमा पुगेर उनीहरुका भावना टपक्क टिपेर जस्ताको त्यस्तै बजाउँदा सबैले हेपेका दलित र अन्य समुदायमा जस्तै पुरुषले हेपेका महिलाहरुलाई धेरै फाइदा पुगेको छ ।

रामगञ्ज बेलगछियाकी सीतादेवी ऋषिदेव भन्छिन् ” यो कार्यक्रममा हामीलाई भएका हेलाहोचा तथा छुवाछुतको कुरा हुनथालेपछि गाउँका मानिसहरु डराउन थालेका छन् । हामीले पनि हाम्रो कमजोरी थाहा पाउन थालेका छौ, पढ्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।” ”कार्यक्रमबाट सिकेर नै हामीले गाउँमा आफ्नै टोलका दिदीबहिनी मिलेर बचत गर्न थालेका छौ, जसले गर्दा परेको काम चलाउन लोग्नेको मुख ताक्नु पर्दैन” सीतादेवीका कुरा सुनीरहेकी रीनादेवी ऋषिदेवले भनिन् ।

यो कार्यक्रमबाट पछाडि पारेका तथा दलित समुदायका महिलाहरुले भोगेका समस्या र पिडा जस्ताको त्यस्तै सुनाइन्छ । अनि त्यसबाट गाउँका ठुलावडा भनाउँदा झस्किन्छन्” सुनसरीको पाँचकन्यामा बसेर दलित अधिकारको पक्षमा खटिरहेका विनोद बिश्वकर्माले बताए । बिश्वकर्माका अनुसार यो कार्यक्रम गाउँको निश्चित ठाउँमा सबैजना भेला भएर सुन्ने गरिन्छ । यसरी भेलाहुनेमा महिला र पुरुष बराबरी हुन्छन् । कतिपय ठाउँमा त महिलाको उपस्थिती बढी हुन्छ । कार्यक्रममा बजेका बिषयबस्तु र त्यसको प्रभावका बारेमा छलफल हुन्छ । सबैले आ–आफ्नो कुरा राख्छन् । किनभने सबैले बोल्नै पर्छ । ”आफुले भोगेका पिडा तथा दुःखहरु रेडियोले बजाइदिदा हाम्रो पनि कोही रहेछ, अब हामीले पनि बोल्नुपर्ने रहेछ भन्ने भावना पलाएको छ,” पाँचकन्याकी एक बृद्ध महिलाले बताइन् ।

यो कार्यक्रमले महिलाहरुलाई आत्मबिश्वासी बन्न सघाएको छ । हेपिएर बस्नु हुदैन भन्ने पाठ पढाएको छ । समस्याहरु अरुलाई सुनाउन थालेपछि कसैले हेप्न नसक्ने रहेछ भन्ने पाठ पढाएको छ । यस कुरालाई पुष्टि गर्दै बिनोद बिश्वकर्मा भन्छन्, ”हाम्रो गाउँका एकजना गैरदलितले हाम्री बहिनीलाई काम गर्न जाँदा कुकुरलाई दिने थालमा खान दिएछन् । त्यो थाहा पाएर ती बैनीले खाना नखाएको कुरा रेडियोबाट बज्यो जसले गर्दा अन्यत्रका महिला तथा पुरुषहरु पनि सचेत भएका छन् ।”

सुनसरीमा तराई मुलका दलितहरुको संख्या धेरै छ । यो समुदायमा महिलाहरु धेरै पछि परेका छन् । लोग्नेमान्छेले समेत पढेका छैनन भने महिलाहरुको साक्षरताको प्रश्न नै उठ्दैन । तर अब भने धेरै कुरा फेरिन थालेका छन् । ”अब हामी पनि पढ्छौ, गाविसमा गएर प्रौढ शिक्षाको माग गर्छौ ।” हिजो आज महिलाहरु भेला भएर यस्ता प्रतिबद्धता व्यक्त गर्छन् ।

दलित समुदायका महिलाहरु आफ्ना पिडा तथा भोगाइका अनुभुतीहरुलाई कथेर गीत बनाउँछन् । अनि रेडियोबाट आफ्नै आवाजमा बज्ने गरी रेकर्ड गराउँछन् । यसले पनि उनीहरुको हौसला बढेको छ । घर आँगन सफा राख्ने, शौचालयमा दिसा पिसाव गर्ने, छोराछोरीलाई गोठालो तथा मेलापातको सट्टा स्कुल पठाउने अभियानमा महिलाहरु लागेका छन् । सोनापुरका गंगा प्रसाद ऋषिदेवका अनुसार आफ्ना छोराछोरीलाई सरकारले दिने छात्रबृत्रीको पैसा हिनामिना भएको पनि महिलाहरु थाहा पाउन थालेका छन् । यस्तो सुबिधाका बारेमा बुझ्न उनीहरु आफै बिद्यालयसम्म जान थालेका छन् ।

तराई मुलका अधिकांश दलित समुदायसँग नागरिकता छैन । जसले गर्दा छोराछोरीको जन्मदर्ता हुन सक्दैन । जन्मदर्ता नहुदा स्कुलमा भर्ना हुन गा¥हो हुन्छ । तर अब यि महिलाहरुले नागरिकता नहुदाँ पाइने दुःख राम्ररी बुझेका छन् । त्यसैले उनीहरु नागरिकता बनाउने, छोराछोरीको जन्मदर्ता गर्ने कामलाई बिभिन्न संघसंस्थाको सहयोगमा आन्दोलनकै रुपमा अगाडी बढाउन पनि लागिपरेका छन् । त्यसैले हिजोआज दलित समुदायका महिलाहरु भन्छन् ”जातपातको नाममा कसैले कसैलाई हेप्न पाइदैन , हाम्रो पनि रगत रातो छ, हामीलाई खाँचो छ शिक्षाको । आफुले त पढ्न सकिएन, तर छोराछोरीलाई पढाएर समाजमा सम्मानीत नागरीक सरह बाँच्न हामी अब पछि हट्ने छैनौ ।”

0 comments to “रेडियोले संगठित बनायो सुनसरीका दलित महिलालाई”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates