Monday, January 30, 2012

हाम्रा चार सहिदहरुको बारेमा जानकारि उहाँहरु कस्तो हुनुहुन्थ्यो ।

,
शुक्रराज जोशी (शास्त्री) (१९५०–१९९७)
शुक्रराज जोशीको जन्म वि.सं. १९५० सालमा काठमाडौंको बांगेमुडामा भएको थियो । उच्च श्रेणीमा संस्कृत साहित्यमा शास्त्री उतीर्ण गरेकाले उहाँलाई पछि शास्त्री भन्न थालिएको हो । आर्य समाजका एक सक्रिय सदस्य शुक्रराजको विवाह अर्का सहिद धर्मभक्त माथेमाकी बहिनीसँग भएको थियो । उहाँ नेपालभाषाका प्रमुख साहित्यकार हुनुहुन्थ्यो । उहाँका विभिन्न भाषामा पुस्तकहरु समेत प्रकाशित छन् ।
भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेपछि शुक्रराज नेपाल फर्किनुभएको थियो । काठमाडौँ आएपछि उहाँको सम्पर्क क्रान्तिकारीहरूसँग भयो । १९९३ सालदेखि उहाँ राणा शासन विरोधी अभियानमा लाग्नुभयो । महात्मा गान्धीसँग भेटेको आरोपमा उहाँलाई राणा सरकारले नजरबन्द समेत गरेको थियो ।
१९९५ माघ १३ गते काठमाडौँको इन्द्रचोकमा राणा शासनको विरुद्ध आयोजित आमसभामा उहाँले सम्बोधन गर्नुभएको थियो । लगत्तै राजद्रोहको अभियोग लगाएर उहाँलाई पक्राउ गरियो र तीन वर्ष कैद सुनाइयो ।
आठवटा झुटा मुद्दामा लगाएर राणा शासनले सर्वस्वहरणसहित उहाँलाई फाँसीको सजाय सुनायो र १९९७ साल माघ १० गते राती टेकुमा झुण्ड्याएर हत्या गरियो ।
दशरथ चन्द (१९६०– १९९७)
वि.सं.१९६० साल असारमा बैतडीको बस्कोटमा जन्मिएका दशरथ चन्द परिवारका माइला छोरा हुनुहुन्थ्यो । उहाँलाई सहिद माइला पनि भन्ने गरिन्छ । उहाँले मानविकी तथा समाजशास्त्रमा भारतको बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो ।
बनारसमा पढ्दा नै उहाँले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा सक्रिय सहभागिता जनाउनुभएको थियो । १९९० मा बारा जिल्लामा नेता टंकप्रसाद आचार्यसँग भएको पहिलो भेटपछि उहाँको क्रान्ति चेत झन् बढ्यो । त्यसपछि उहाँले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो ।
राणा शासन विरुद्ध आन्दोलन गरिरहेको नेपाल प्रजापरिषद्मा आवद्ध भएर उहाँले सेवासिंह छद्मनामबाट राणा विरोधी लेखरचना समेत प्रकाशित गर्नुहुन्थ्यो । जेलमा दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेल पर्नुभएको थियो ।
तत्कालीन राणा सरकारले उहाँलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेको थियो । उहाँको विवाह राणा खानदानकै एक युवतिसँग तय भएको थियो तर दुईपटकसम्म जन्ति लिएर जाँदा पनि परिवारमा जुठो परेपछि उहाँको विवाह रोकिएको थियो । अन्ततः उहाँ अविवाहित नै सहिद बन्नुभयो ।
धर्मभक्त माथेमा (१९६६–१९९७)
१९६६ असोज ९ गते काठमाडौँको ओमबहालमा जन्मेका धर्मभक्तले भारतको दार्जलिङबाट शिक्षा आर्जन गर्नुभएको थियो । धर्मभक्त माथेमाका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।
धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत हुनुहुन्थ्यो । अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउनुभयो । माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत हुनुहुन्थ्यो । उहाँले नेपालमा पहिलो पटक आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याउनुभएको थियो ।
बाल्यकालमा उहाँ निकै दुब्लो र पातलो हुनुहुन्थ्यो । दुबलो र पतलो भएका कारण उहाँलाई साथीहरुले निकै गिज्याउँथे । माथेमा कलकत्तामा पढ्दा शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उहाँ बंगाल च्याम्पियन समेत बन्नुभएको थियो ।
उहाँले काठमाडौं फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे । एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।
राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्बत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले आजकै दिन अर्थात १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए ।
गंगालाल श्रेष्ठ (१९७५– १९९७)
गंगालाल श्रेष्ठ वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मनुभएको थियो । १९९४ मा दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका गंगालाल त्रिचन्द्र क्याम्पस आईएस्सी उध्ययन गर्नुभएको थियो ।
कलाकारितामा निकै रुचि राख्ने गंगालाल राण विरोधी संस्था महावीरका कार्यकर्ता समेत हुनुहुन्थ्यो । महावीर संस्थाले राणा शासन विरुद्ध जनचेतना जगाउन राणाविरोधी प्रवचन र क्रियाकलापहरू गर्थ्यो ।
१९९५ सालमा काठमाडौंको असन र ईन्द्रचोकमा राणा विरोधी सभाहरुको आयोजना भएको थियो । त्यही सभामा भाषणा गरेबापत उहाँलाई पक्रा समेत गरिएको थियो तर पछि उहाँ छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिई उहाँ राणा शासन विरोधी गतिविधिमा पनि सक्रिय सहभागी हुनुभयो ।
राणा बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई १९९७ साल कात्तिक २ गते पक्राउ गरियो । त्यही वर्ष माघ १५ गते दशरथ चन्दसँगै केन्द्रय कारागारबाट उहाँलाई लगेर बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी हत्या गरियो ।

0 comments to “हाम्रा चार सहिदहरुको बारेमा जानकारि उहाँहरु कस्तो हुनुहुन्थ्यो ।”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates