नेपाली कलाकारको समाजसेवा नियाल्दा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गायिका आनी छोइङ डोल्मा अग्रपङ्क्तिमा देखा पर्छन्। सेवा भनेको सानो ठूलो नभई सेवा नै हुने भए पनि यी तीन कलाकारको प्रयासले संस्थागत स्वरुप लिइसकेको छ। महले जनस्वास्थ्य सरोकार ट्रष्ट खोलेर अस्पताल, नर्सिङ तालिम र स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छन्। मदनकृष्ण अध्यक्ष र हरिवंश उपाध्यक्ष रहेको ट्रष्टमार्फत काठमाडौंको बागबजारमा मोडल अस्पताल र दोलखामा गौरीशङ्कर अस्पताल चलिरहेका छन्। कलामा सहकार्यसँगै कमाइको केही प्रतिशत खुत्रुकेमा राखेर सामाजिक सेवा थालेका मह जोडीले बितेका तीन दशकमा कति सामाजिक संघसंस्था र व्यक्तिलाई सहयोग गरे, हिसाब छैन। दोस्रो जनआन्दोलनताका महले रु.१ लाख राखेर खडा गरेको घाइते उपचार कोषमा पछि दुई करोड ५५ लाख जम्मा भयो, जसबाट पाँच हजार जना लाभान्वित भएका थिए। गरिब विद्यार्थीका लागि समता स्कूल खोल्ने अभियानमा पनि मह र आनी छोइङ उत्तम सन्जेलसँगै छन्।
ह्याविट्याट नेपाल नामक संस्थाको सद्भावना दूतका रूपमा हालै पोखराका गरिबदुखीका लागि ४० वटा घर बनाउन खटेका मदनकृष्ण भन्छन्, “हामीले आफ्नो समाजलाई जति दिएका छौं, त्यसको कैयन् गुणा बढी स्याबासी पाएका छौं, हाम्रो लागि यो अमूल्य कुरा हो।”
आफ्नो सारा कमाई सामाजिक सेवामा लगाएर आनन्दित हुने आनी छोइङ अहिले मिर्गौला रोगीहरूका लागि आरोग्य डाइनोग्सिस केन्द्र खोल्दैछिन्। मिर्गौला रोगबाट आमा गुमाएकी आनीको आरोग्य केन्द्र खुलेपछि मिर्गौला प्रत्यारोपणअघिको परीक्षणका लागि कसैले विदेश धाउनुपर्ने छैन। उनी भन्छिन्, “यो रोगको उपचार सारै महँगो र नेपालीले विदेश धाउनुपर्ने भएकाले आरोग्य फाउन्डेसन स्थापना गरेर यो काम आँटेकी हुँ।”
शुरु गर्नै रु.१ करोडभन्दा बढी लाग्ने मिर्गौला डाइनोग्सिस केन्द्र सञ्चालनमा आएपछि बिरामीहरूले पाउने राहतलाई पैसामै गणना गर्दा पनि धेरै गुणा बढी हुनेछ। भनिरहनुपर्दैन, यसबाट आनीले एक पैसा लिनु छैन, बरु सेवालाई सहज, सस्तो र दिगो बनाउन आजीवन खट्नेछिन्। कालीमाटीमा दिलशोभा श्रेष्ठले चलाएको आमाघरकी एक जना प्रमुख दाता रहेकी आनीले फर्पिङमा पनि आर्यतारा स्कूल चलाइरहेकी छन्।
सेवामार्गका अन्य यात्री
गायक, सिने हिरो र विमान चालक विजय लामालाई देशका कतिपय दुर्गम गाउँवासीहरू आङ ढाक्न सघाउने क्याप्टेन भनेर चिन्छन्। नेपाल एअरलाइन्सका क्याप्टेन लामा आन्तरिक यात्रु विमान उडाउने क्रममा गएको ६ वर्षदेखि कपडाका पोकाहरू लिएर पहाडी हवाईपट्टिहरूमा उत्रिरहेका छन् जुन अभावको जीवन झ्ेलिरहेकाहरूको आङमा पर्छ। लामाको यो न्यानोपन कार्यक्रमलाई शुरुमा पाटनढोकाको रातो बङ्गला स्कूल र अन्य केही संघसंस्थाले पनि सघाएका थिए।
अहिलेसम्म आठ सय बोरा कपडा बाँडेका क्याप्टेन लामाले बाढीपीडित, अग्निपीडित र अनाथहरूलाई पनि निरन्तर सहयोग जुटाइरहेका छन्। उनले क्यान्सर पीडित बालिका रोजी सिलवाललाई समेत सहयोग गरेका छन्।
अध्यात्मसँगै समाजसेवामा लागेका नायिका पुजना स्त्री र नायक पुष्पराज पुरुषले गएको १० माघमा ४०४ दाताबाट रक्त सङ्कलन गरेर एकैपटक धेरै बिरामीलाई रगत जुटाएको आनन्द लिए। यसै साता विशालनगर पुस्तकालयलाई रु.२५०० हजार दिएकी पुजनाले जयसङ्गत बाल आश्रम खोलेर तीन अनाथ बालबालिका पनि स्याहारिरहेकी छन्। भन्छिन्, “अब उप्रान्त जीवनको लक्ष्य नै समाजसेवा हो, फिल्म बाहेकको समयमा बाल आश्रमलाई विस्तृत र व्यवस्थित पार्ने काम गरिरहेकी छु।”
अहिले प्रदर्शन भइरहेको श्रीमान सहित तीन कथानक चलचित्र र दर्जनौं म्युजिक भिडियोका कलाकार तथा सहकारी सञ्चालक पुष्पराजले त समाजसेवाका लागि जय सङ्गत आश्रम स्थापना गरेर आफ्नो सारा सम्पत्ति नै हस्तान्तरण गरेका छन्, कानुनी रूपमै।
उता हास्यकलाकार दीपकराज गिरीले आफ्नो कमाइको १० प्रतिशत दिदी नामक संस्थामार्फत समाजसेवामा लगाइरहेका छन्। हालै मात्र आफ्नै गाउँ थानकोट दहचोकका लागि एम्बुलेन्स किनेका दीपकराजकी जोडी दिपाश्री निरौला पनि समाजसेवामा छिन्। हरिततारा पुरस्कारसँगै उनीहरूले पाएको रु.२५ हजार कलाकार जयनन्द चन्द र एचआईभी पीडितहरूको उपचारमा खर्च गरे।
गायिका सविना कार्कीले आफ्ना सबै अल्बम बिक्रीको रकम अनाथालय र वृद्धाश्रमलाई समर्पित गरेकी छन्। केही समयअघि मात्र उनले आमाघर, बुद्धिष्ट बालगृह र मस्कुलर डिट्रोफी फाउन्डेसन प्रत्येकलाई रु.५१ हजार दिइन्। धापाखेलकी राधिका दाहालको शिक्षाको जिम्मेवारी लिएकी नायिका निरु खड्का कुसुन्तीको बाल छहारी अनाथ आश्रममा संलग्न छिन्।
यसैगरी, हालै विवाह गरेकी नायिका शोभिता सिम्खडाले विवाह खर्च बचाएर धादिङको कालिकादेवी प्रावि र तामाखर्क उमाविका सात जना विद्यार्थीको सम्पूर्ण पढाइ खर्च बेहोर्ने जिम्मेवारी लिएकी छन्। पप गायक मिलन लामा र र्यापका निर्णय श्रेष्ठ पनि निरन्तर समाजसेवामा छन्। मिलनले देशविदेश जहाँ कार्यक्रम गरे पनि उठेको रकम चितवनको खैरेनीस्थित अन्तोदय चेपाङ माविमा पुग्छ। पछिल्लो पटक बेलायतमा आफ्नो ढाकाटोपी लिलामी गरेको रु.७० हजार पनि त्यही विद्यालयको कोषमा गयो। यो गर्मीमा चितवनकै गरिब कुमाल परिवारमा ५० थान झ्ुुल बाँडेका उनी भन्छन्, “सेवा मेरो जीवनको अभिन्न गतिविधि भइसकेको छ।”
निर्णय श्रेष्ठले किताबको अभावमा पढ्न नपाएकाहरूलाई सहयोग गर्ने अभियान थालेको पाँच वर्ष भयो। उनको कन्सर्टको उद्देश्य नै किताब सङ्कलन हुन्छ। निर्णयः द एनएएसके टुर पनि यही उद्देश्यबाट शुरु भयो। उनी यो वर्ष १० हजार किताब बाँड्ने योजनामा छन्।
मोडल खुश्वु ओलीले फर्पिङमा वृद्धवृद्धा र बालबालिकाका लागि सपना आमाघर चलाएको एक वर्ष भयो। बेलायतको अक्सफोर्ड विश्वविद्यालयकी विद्यार्थी खुश्वुलाई समाजसेवामा अर्पणराज कोइरालाले साथ दिएका छन्। उनीहरूले स्थापना गरेको अक्षय कोषबाट झ्ापाको सुरुङ्गामा १० वृद्धाका लागि आवास र भोजनको व्यवस्था छ। चितवनको सौराहा रेडक्रस सोसाइटीले एम्बुलेन्स पाएको छ। “सुरुङ्गाका २० परिवारलाई चाहिँ छोराछोरी पढाउने शर्तमा रिक्सा किनिदिएका छौं”, खुश्वु भन्छिन्।
हिमाल खबर पत्रिका बाट लिएको
Monday, June 6, 2011
समाजसेवाको गफ मात्र हैन, कामै गरेर देखाउने नेपाली कलाकार पनि कम छैनन्।
Posted by
MY WORDS
,
at
7:12 AM
Subscribe to:
Post Comments (Atom)