सजना (गोमा)
सजना (गोमा)- समयको खुट्किला उक्लिने क्रममा कतिबेला यहाँ आइपुगेँ, थाहै भएन। ओखलढुंगाको विकट हिमाली गाउँमा जन्मिएकी म आमासँग अँगेनामा भात पकाएर खाँदै गाउँकै कुनै क्याम्पसमा अल्झिरहेको हुनुपर्ने मेरो जीवन! संयोगको लहरोमा अल्झिएर कल्पनै गर्न नसकिने चरम सुखमा उफ्रिरहेको पाउँछु।
काल्पनिक कहालीलाग्दो सपनाबाट मेरो जीवनलाई ब्युँझाएर सांसारिक सत्यको धरातलमा धकेलिदिने गायक अविनाश घिसिङ र मेरो ठूलो मामाप्रति म कृतज्ञ छु। यसलाई पढिसकेपछि मेरा लागि काठको बाकस नाप्न जानुहुने जो कोहीलाई पनि आवेशमा नआइदिनुहुन अनुरोध गर्दछु।
गायक अविनाश घिसिङ।
स्कुलमा सात क्लासमा पढिरहेको बेला 'ट्रुथ एन्ड डेयर' खेल खेल्दा साथीहरूको प्रश्नमा मैले जवाफ दिएकी थिएँ, 'मेरो ब्वाइफ्रेन्डको नाम अविनाश घिसिङ हो।' मुखबाट अनायासै प्याच्च निस्किएको त्यो वाक्यले मेरो जीवनमा धमासागर नै निम्त्याउला भन्ने सोचेकै थिइनँ मैले। त्यसबेला न त मेरो कुनै ब्वाइफ्रेन्ड थियो, न उसको नाम अविनाश नै थियो। त्यो नाम भएको मान्छेलाई देखेको, भेटेको वा सुनेकोसमेत थिइनँ। साथी संगीता अन्ताक्षारी खेल्दा 'ल' शब्द आयो कि गाउन थालिहाल्थिन्, 'ल्हासाको चिसोले छोयो कि मैच्याङलाई.....।' एक दिन घरमा खाजा खँादै टिभी हेरिरहँदा त्यै 'ल्हासाको चिसोले' भन्ने गीत पो बज्न थाल्यो! म त तीनछक परेँ। त्यस गीतमा अविनाश घिसिङ भन्ने र्यापर पो उफ्रिनथाल्यो। त्यसपछि त के चाहियो र! म त सिधै घिसिङको फ्यान भइहालेँ। यतिसम्म कि अविनाशको 'जिरो प्वाइन्ट' एल्बमको कभरमा उसको गर्लफ्रेन्डको नाम 'सजना' लेखिएको देखेपछि मैले जिल्लास्तरीय परीक्षाको फर्म भर्दा आफ्नो नाम 'गोमा' बाट 'सजना' बनाइदिएँ।
अविनाशले फिचरिङ गरेको 'कलकत्ते काइँयो' गीत सुने र हेरेपछि त मलाई खपिसक्नु भएन। मैले यस गायकलाई जसरी भएपनि भेटेरै छाड्छु भनी दह्रो प्रण गरेँ। एकजना दिदीले अविनाशलाई चिन्नु हुन्छ रे भन्ने थाहा पाएपछि उहाँसँग नम्बर माग्न निकै प्रयत्न गरेँ तर सकिनँ। कसरी अविनाशसम्म पुग्ने? म छट्पटिन थालेँ र अविनाशलाई भेट्ने उपायको खोजीमा लागेँ। आखिर उसलाई फेला पारेरै छाडेँ।
नेपालको त्यत्रो नाम चलेको गायक, त्यसमाथि पनि मजस्तो फ्यान फालाफाल होलान्, मलाई त मान्छे नै गन्दैन होला, भेटेपछि त मसँग फोनमा बोल्नै छाड्छ होला भन्ने लागेर मलाई ऊसँग भेट्नचाहिँ त्यति इच्छा लागेको थिएन। एकदिन पानीपोखरीस्थित जापनिज एम्बेसीअगाडि आउँछु भनेर कसम नै खाइसकेपछि जानुको विकल्प थिएन। त्यसमाथि अविनाशले 'अब पनि मलाई भेट्न नआउने भए म तिम्रो फोनै रिसिभ गर्दिनँ' भनेर धम्की दिएको थियो। नगई सुख! मलाई अविनाशको अनुहारभन्दा बढी उसको आवाज मनपर्ने भएकाले उसले फोन नउठाउने कुरा गर्यो कि मेरो सातो जान्थ्यो।
अविनाशलाई आकर्षित गर्ने हिसाबले आफूलाई च्वाँक देखाउन मैले कपाल स्ट्रेट गरेर कोरियन कट काटेँ, कानमा इयरफोन झुन्ड्याएँ। तर, निर्धारित ठाउँमा पुग्नासाथ डर र लाजले मेरो त होस नै उडिहाल्यो। अविनाश भएको क्याफेभित्र छिरेर यसो हेरेको त ऊसँग साथीसमेत आएको देखेँ। उनीहरू दुई- दुई जना केटा आफूचाहिँ एक्लै भएकाले मलाई झन् चिन्ता लाग्यो। न्ााम चलेको गायक, त्यसमाथि पनि उसको पछाडि त केटीहरूको लाइनै लाग्छ रे भन्ने सुनेको थिएँ। मैले अविनाश घिसिङलाई मेहनती, चुरोटे, सुतुवा, इंग्लिसमा लद्दु र केटीप्रति आकर्षित भइहाल्ने भए पनि फराकिलो मन भएको गायकको रूपमा पाएँ।
साथीको नातामा तँ-तँ-म-म चलिसकेपछिको कुरा हो, एकदिन अविनाशलाई निकै मर्का परेछ। उसले मलाई मिल्ने साथी ठानेर केही रकम सहयोग माग्यो। म भर्खर १० कक्षामा पढ्ने फुच्चीसँग गायकलाई सहयोग गर्ने पैसा कहाँबाट हुनु? तर म आफूले खनेको खाल्टोमा आफैँ परेकी थिएँँ। मैले उसलाई पहिलेदेखि नै आफू हङकङ आइडी होल्डर, लाहुरे बाबुको एक्लो छोरी हुँ भनेर गफ हान्दै आएकी थिएँ। मैले गफ हान्नुमा पनि आफ्नै बाध्यता थिए। मैले आफ्नै मामाको दराजबाट केही पैसा चोरेर अविनाशको गर्जो टारिदिएँ। उसले 'थ्यांक यु' भनेको सुन्न पाउँदाको आनन्द अब मलाई सायदै आउँछ। उसले मसँग कहिलेकाहीँ साह्रै साह्रो-गाह्रोे पर्दा आफ्नो हङकङ आइडी होल्डर साथीसँग पैसा नहुने कुरै भएन भन्ने ठानी सानोतिनो सहयोग मागिरहन्थ्यो। यता मलाई भने कहीँ नभएको समस्या आइलाग्थ्यो। दिऊँ भने फुटेको कौडी नहुने, नदिऊँ भने सम्बन्ध नै टुट्ला भन्ने डर! छैन भनुँ त ढाँटेको शंका गर्ला भन्ने पिर! प्रायजसो कुनै न कुनै बहाना बनाएर टारिदिन्थेँ। तर, कहिलेकाहीँ त अति नै धर्मसंकटमा पर्थेँ। उस्तो बेलामा झुट बोल्नुको दरिद्रता सम्झेर मुटु निचोरेर रुन मन लाग्थ्यो। पैसाकै लागि कतिपटक त मैले आफ्ना सामान र आमाले बनाइदिएको सुन बेच्ने ध्याउन्नमा पूरै काठमाडौँ चहारेकी थिएँ। एकपल्ट त एउटा केटालाई हङकङको आइडी बनाइदिन्छु भनेर १३ हजार २ सय रूपैयाँ नै ठगेकी थिएँ मैले। त्यो पैसाको सदुपयोग गर्न भने जानिनँ। साथीहरू मभन्दा बाठा भएकाले डिस्कोमा उडाइदिए। मैले चाहिँ काठमाडौँ मलको 'निल डेभिड्स हेयर एन्ड ब्युटी सैलुन'मा गएर कपाल स्ट्रेट गरेँ, जुत्ता, बेल्ट र चकलेटहरू किनेँ। बाँकी बचेकोे अलिकति पैसा अविनाशलाई चढाइदिएँ।
गायकजस्तो साथीलाई भेट्न जाँदा एउटै लुगा के लगाउनु जस्तो लाग्थ्यो। आफू टिनएजर, के के सोच्थेँ के के! त्यसैले पहिलोपल्ट चोरेको थाहा नपाएपछि मैले फेरि पनि मामाको दराजबाट १५ सय रूपैयाँ चोरेकी थिएँ। असन बजारमा गएर झोला, टिसर्ट र चकलेट किन्दैमा एउटा हात्ती सकिइहाल्यो। अविनाशलाई भेट्न जाँदा-आउँदालाई पाँच सय ट्याक्सी खर्च छुट्याएकी थिएँ। अविनाशले अर्कोपल्ट भेट्न आउँदा स्कर्ट लगाएर आऊ भनेको थियो। त्यो त अझै किन्नै बाँकी थियो। पैसा त सकिइहाल्यो। विकल्पमा, हामीले स्कर्ट चाहिँ छ्याप हान्ने निर्णय गर्यौँ। मसँग अरू दुईजना साथी पनि थिए। उनीहरू अलि डरपोक! त्यसैले म आफैँ सुरो भएर एउटा पसलभित्र छिरेँ। साथीहरू पछिपछि आए। उनीहरू पसलेलाई भुलाउन थाले। म चाहिँ कुनातिर पसँे। एउटा स्कर्ट झिकेँ र स्वात्त ब्यागमा हालेँ। कसैले पनि सुइँको पाएको छ जस्तो लागेको थिएन। त्यसैले शिर ठाडो बनाएर बाहिर निस्किन मात्र के लागेको थिएँ, कसैले पछाडिबाट समातेको जस्तो लाग्यो। पसलेले त सिसी क्यामराबाट मेरा क्रियाकलाप सबै हेरिरहेको रैछ। त्यसमाथि साहुनी परिछन् लोकल। दुई झापड हानेपछि त छोड्देको भए पनि हुन्थ्यो नि। दिनभरि कान समातेर उभ्याउनु उभ्याइन्। साँझ काम्दै काम्दै घर फर्केँ। 'दिनभरि काँ गा'को थिस्?' भनेर आमाले झन्डै मारेको! मलाई त ज्याकी च्यान हुन पाए पनि सबलाई मारिदिन्थे जस्तो रिस उठेको थियो। खान पनि नखाई सुतिदिऊँ कि जस्तो झोक चलेको थियो। तर, अविनाशलाई फोन गर्नकै लागि भए पनि रातको ११ त बजाउनैपर्ने बाध्यता थियो।
एसएलसी परीक्षा सकाएर गाउँ जान मात्र के लागेको थिएँ, मेरो त घरमा वितण्डा नै मच्चियो। मैले मामाको पैसा चोरेको कुरा सबैको सामु भन्डाफोर भइछाड्यो। आफूलाई गरिबी र अभावको दलदलबाट बचाएर बाबुआमाले समेत दिन नसकेको ज्ञान, सिप र आश्रय दिनुभएका मेरा मामामाइजू र हजुरआमालाई मैले निकै ठूलो अपमानको पोकोले रिझाउन खोजेछु। अविनाशरूपी सपनालाई खुशी बनाउन खोज्दा अरू सबै दुःखी भएछन्।
'चोरेको पैसाले के गर्यौ?' मामाहरूले सोध्दा जवाफमा मसँग कुनै शब्द थिएनन्। 'तिमीजस्तो विश्वासघातीले अब मलाई कहिल्यै आफ्नो अनुहार नदेखाउनू,' मावलीको मायाबाट सदाका लागि विदा पाएँ मैले। मामाघरबाट निकालिए पनि मेरो त अविनाश छँदैछ नि भन्ने ठानेर एसएलसीपछिका तीन महिना गाउँमै बिताएँ। परीक्षामा म पास भएँ। अब पढ्नलाई कहाँ जाने भन्ने समस्या आयो। आखिर, मामाले नै मेरो समस्या बुझिदिनुभयो। 'एकपल्टलाई माफ गरिदिन्छु, पढ्नलाई छिटो आऊ' भन्ने मामाको वाक्य सम्झेर अझैपनि मेरो आँखा रसाउँछ।
काठमाडौँ त आएँ। लगत्तै अविनाश युरोप टुरमा जानुपर्ने भएछ। उसले विश्व घुम्न पाएकोमा मलाई खुसी लाग्यो। त्यसदिन मैले उसलाई जानेबेलामा फोन गरेर 'राम्रोसँग गएर छिट्टै आउनू' भनेँ। उसले पनि 'म उताबाट फर्केपछि भेटौँला है' भन्यो। म ऊ कहिले आउला र भेटौँला भनी पर्खिरहेँ। झन्डै डेढ महिनाको बसाइपछि गायक अविनाश नेपाल फर्किए पनि मेरो अविनाश उतै बसेछ। गायक अविनाशले मेरो फोन नै उठाउन छाड्यो।
अविनाशलाई मैले गरेको सहयोग सानै भए पनि घरमा पैसा चोरेकोमा ठूलो बदनामी सहनुपर्यो। तर मलाई कहिल्यै पनि त्यो पैसा चोरेर अविनाशलाई दिएकोमा दुःख वा पश्चाताप लागेको थिएन। तर अविनाशले नै मलाई नकार्न थालेपछि मेरो त मन बुझाउने बाटै रहेन। मलाई त मेरो मुटुमा रगत पम्प गर्ने नसा नै चुँडिएको जस्तो भयो।
जसोतसो भेट त भयो अविनाशसँग। ऊ निकै भावुक देखियो। ठूलो मान्छे हुनुको गुण झल्किएको थियो उसमा। नाटकको अन्तिम चरणमा साढे दुई घन्टाजति सँगै बसेर मैले मनका सारा कुरा सुनाएपछि हामी आ-आफ्नो बाटो लाग्यौँ। सधैँका लागि। सिसा फुट्यो। सिसाझैँ हामी फेरि जोडिएनौँ पनि।
Nagrik Friday bata liyeko
Tuesday, November 1, 2011
Subscribe to:
Post Comments (Atom)